
दबोराको गवाही

“म १४ वर्षको हुँदा ख्रीष्टियन बनेँ। त्यसअघि म ख्रीष्टियन धर्मको मजाक उडाउँथेँ र गिज्याउँथेँ। तर जब म उद्धार पाएँ, येशूले मेरो लागि धेरै ढोका खोलिदिनुभयो, जसबाट मैले धेरै मानिसहरूलाई उहाँतर्फ लैजान सकेँ। हामी अत्यन्त गरिब थियौँ, बस चढ्न पनि सक्दैनथ्यौँ, त्यसैले हामी हरेक दिन धेरै माइल हिँड्थ्यौँ। बाटोमा भेटिने सबैलाई हामी भन्थ्यौँ: ‘येशूले तिमीलाई माया गर्नुहुन्छ। तिमी उहाँमा विश्वास गर, नत्र नरकमा जानेछौ।’ मानिसहरूले सुन्थे, र परमेश्वरको आत्मा त्यहाँ उपस्थित हुन्थ्यो, त्यसैले धेरैले पश्चात्ताप गरे। त्यतिबेला मलाई प्रचार गर्न राम्रो तरिकाले आउँदैनथ्यो, त्यसैले मलाई थाहा भएका केही शब्द मात्र बोल्थेँ।
१६ वर्षको हुँदा नै म यति चर्चित भइसकेकी थिएँ कि प्रहरीले मलाई खोज्न थाल्यो। उनीहरूले मेरो तस्बिर भएको पोस्टरहरू पर्खाल र रूखहरूमा टाँसेका थिए, जसमा लेखिएको थियो: ‘यो केटी पागल छ, यो प्रहरीद्वारा खोजिएकी छ।’
एक दिन म ७० भन्दा बढी ख्रीष्टियनहरूको बैठकमा थिएँ। त्यहाँ १० भन्दा बढी प्रहरी आए र हामी सबैलाई पक्राउ गरे। हामीलाई प्रहरी चौकीमा लगियो र म धेरै जनासँग एउटा सानो जेल कोठामा राखिएँ। त्यहाँ केही पनि थिएन, केवल माटोको भुइँ थियो। भुइँ र भित्तामा रगतका दागहरू थिए। सुत्ने ठाउँ पनि थिएन, केवल भुइँ नै थियो, र प्रत्येकको लागि करिब ५० सेन्टिमिटरको सुत्ने ठाउँ चिन्ह लगाइएको थियो। तीन दिनसम्म हामीलाई खाना दिइएन। तेस्रो दिन प्रहरीले हाम्रो नेता को हो भनेर सोध्यो। सबैले मलाई देखाए। मैले स्वीकार गरेँ कि म नै नेता हुँ। त्यसपछि हामीमध्ये तीन जनाबाहेक अरू सबैलाई छोडियो, र हामी तीन जनालाई ठूलो जेलमा लगियो।
त्यो नयाँ जेलमा मलाई करिब एक दर्जन वेश्याहरू (prostitutes) सँग एउटै कोठामा राखियो। अवस्था धेरै नराम्रो थियो। दुई महिनासम्म हामीलाई दाँत माझ्ने ब्रस वा मञ्जन दिइएन। पुछ्ने कागज पनि थिएन। सबैले सबैको कपडा प्रयोग गर्थे, यहाँसम्म कि अन्डरवियर पनि साझा थियो। तर परमेश्वरले मलाई जोगाइरहनुभयो। तीमध्ये धेरै महिला गम्भीर बिरामी थिए। एक जना त एड्सका कारण मृत्युको नजिक थियो।
त्यो महिलाले म प्रार्थना गर्दा प्रहरीलाई खबर गर्थिन्, र उनीहरूले आएर मलाई पिट्थे। एक पटक दुई जना प्रहरी धेरै रिसाए। उनीहरूले मलाई सोधे: ‘तिमीलाई सुसमाचार प्रचार गर्न कसले पठायो?’ मैले भनें: ‘परमेश्वरले।’ उनीहरूले भने: ‘हामी कम्युनिस्ट हौँ, र यस देशमा कम्युनिस्ट नै देवता हुन्। के तिमी हामीलाई पनि प्रचार गर्ने सोचमा छौ?’ मैले भनें: ‘हो, म तिमीहरूलाई पनि पश्चात्ताप गर्न भन्छु, नत्र तिमीहरू नरकमा जानेछौ।’ उनीहरू धेरै रिसाए।
उनीहरूले मलाई घुँडा टेकाएर ढुंगा र सिसा भएको जमिनमा बस्न लगाए। मेरा हातहरू अगाडि सीधा राख्न बाध्य पारे, र निरन्तर मजाक उडाए, ‘यदि तेरो परमेश्वर साँचो हो भने किन बचाउँदैन?’ जब म थाकेर हात झार्थेँ, उनीहरूले मेरो अनुहारमा प्रहार गर्थे। अन्ततः म बेहोस हुने अवस्थामा पुगेँ र मैले परमेश्वरलाई भनेँ: ‘तपाईंकी छोरी कमजोर छे, मलाई तपाईंको महिमा देखाउनुहोस्।’
त्यसै बेला मलाई दुई स्वर्गदूतहरू कोठामा प्रवेश गरेको जस्तो अनुभव भयो। उनीहरू मेरो दुवै छेउमा बसेर मेरा हातहरू समातेर उठाइरहेका थिए। मेरो अनुहार पहेँलो थियो, तर अचानक तातो र रातो भयो। प्रहरीहरू डराए र मलाई फेरि कोठामा लगेर राखे।
१७ वर्षकी एउटी केटी, जसले पहिले मैले प्रार्थना गर्दा प्रहरीलाई खबर गर्थीन , म फर्किए देखे पछि धेरै जिज्ञासु भइन्। मैले उनलाई भनें कि यो येशूमा विश्वास गरेको कारणले हो। उनले सोधिन्: ‘यदि येशू साँच्चै हुनुहुन्छ भने, के उहाँले मलाई पनि मद्दत गर्न सक्नुहुन्छ?’ मैले भनें: ‘हो।’ मैले उसमाथि हात राखेर प्रार्थना गरेँ। उनी काँप्न थालिन् र चिच्याइन्: ‘मेरो शरीरभित्र करेन्ट बगिरहेको छ!’ केही समयपछि उनले भनिन्: ‘अब म निको भएको महसुस गर्दैछु!’ उनी खुसीले उफ्रिन थालिन्। त्यसपछि उनले अन्य महिलाहरूलाई पनि येशूमा विश्वास गर्न भनिन्, र उनी आफैँ पनि सुसमाचार प्रचार गर्ने जस्तै भइन्। धेरै महिला ख्रीष्टियन बने।
चीनमा १८ वर्ष नपुगेसम्म बच्चालाई जेल हाल्न कानुनी रूपमा अनुमति हुँदैन। त्यसैले केही हप्ता पछि मलाई छोडियो। तर मलाई पत्र लेख्न भनियो जसमा म यी सबै कुराहरू गलत थिए भनेर स्वीकार गरूँ। तर मैले त्यो कहिल्यै गरिनँ। बरु मलाई धेरै पटक फेरि प्रहरीद्वारा नियन्त्रणमा लिइयो।”
