
विश्वासका कारण आक्रमण ,डुकको अटल विश्वासको कथा

मेरो नाम डुक हो। म तीन छोरा र तीन छोरीहरूको बुबा हुँ। मैले ख्रीष्टलाई चिन्नुभन्दा पहिले म बौद्ध धर्म मान्थेँ। हाम्रो गाउँमा करिब ३०० मानिस र ५९ परिवार थिए। तीमध्ये केवल पाँच परिवार मात्र ख्रीष्टियन थिए।
मैले येशूको बारेमा सुनेको थिएँ, तर विश्वास गरेको थिइनँ। सन् २०१५ मा थाम नामका एक प्रचारक हाम्रो गाउँमा सुसमाचार सुनाउन आएपछि मात्र मेरो जीवन बदलियो। उनले परमेश्वर नै सृष्टिकर्ता हुनुहुन्छ र हामीले उहाँलाई प्रभुको रूपमा आराधना गर्नुपर्छ भनेर सिकाए। उनले बाल्यकालदेखि हामीले विश्वास गरेका धेरै कुराहरू सत्य नभएको बताए। मैले उनको सन्देश ग्रहण गरेँ र सत्यलाई चिनेँ। जुलाई २०१५ मा मैले आफ्नो हृदय ख्रीष्टलाई दिएँ। त्यसपछि मैले हाम्रो घरको पूजा वेदी हटाउने निर्णय गरेँ। मेरी पत्नी र छोराछोरीहरूले पनि ख्रीष्टलाई ग्रहण गरे। येशूलाई चिनेको दिनदेखि मैले मानिसहरूका लागि उहाँको प्रेमलाई बुझ्न थालेँ। हरेक दिन उहाँमा मैले शान्ति र आनन्द अनुभव गर्छु।
डिसेम्बर २०१५ मा मेरो दाइले प्रहरी बोलाए, र उनीहरू मलाई ख्रीष्टलाई त्याग्न बाध्य पार्न आए। तर मैले भनेँ, “म येशूलाई पछ्याउन छोड्नेछैन।” मैले उनीहरूलाई भनेँ कि म येशू ख्रीष्टमा विश्वास गर्छु र यसले कसैलाई हानि गर्दैन। केही समयपछि प्रहरी फर्किए, तर मेरो दाइ र उनको परिवारले मलाई ख्रीष्टियन बनेको कारण घृणा गर्न छोडेनन्।
फेब्रुअरी २०१७ को एक दिन बिहान ७ बजे म प्रार्थना सभाबाट मोटरसाइकलमा घर फर्किरहेको थिएँ। मसँग मेरी दुई छोरीहरू पनि थिइन्—एक १२ वर्षकी र अर्की १३ वर्षकी। बाटो निकै खराब भएकाले म बिस्तारै गइरहेको थिएँ। अचानक मेरो दाइ ठूलो चक्कु लिएर दौडँदै आयो र मलाई मार्ने प्रयास गर्यो। मेरी छोरीहरू अत्यन्त डराइन्, मोटरसाइकलबाट हाम फालेर भागिन्। मेरो दाइले मलाई समात्यो र मेरो अनुहार, काँध र हातमा चक्कु प्रहार गर्यो। मेरो दाहिने हात लगभग काटिन लागेको थियो। पीडाको बीचमा मैले आफ्नो मनमा एउटा आवाज सुनेँ: “भाग, भाग!”
म शरीरबाट रगत बगिरहेको अवस्थामा दौडन थालेँ। मेरो दाइ मेरो पछि दौडियो, तर मलाई समात्न नसकेपछि ऊ मोटरसाइकल लिन घर फर्कियो ताकि मलाई पछ्याएर मार्न सकोस्। तर उसको आफ्नै छोरीले उसको योजना बुझेर रोकिदिई।
मेरी दुई छोरी घर पुगेर परिवारलाई सबै कुरा बताइन्। त्यसपछि मेरो एक छोराले मैले छोडेको मोटरसाइकल लिएर मलाई खोज्न निस्कियो। उसले मलाई भेट्नेबित्तिकै एम्बुलेन्स बोलायो। अस्पताल हाम्रो ठाउँबाट करिब १०० किलोमिटर टाढा थियो। बिहान ९ बजे एम्बुलेन्स आइपुग्यो, र त्यसमा चढाइएपछि धेरै रगत बगेकाले म बेहोस भएँ। डाक्टरहरूले बेलुका ५ बजेसम्म मेरो हात बचाउन शल्यक्रिया गरे। म बाँचेँ, मेरो हात पनि बच्यो, तर होसमा आउँदा मैले देख्न सकिरहेको थिइनँ। परमेश्वरलाई धन्यवाद, तीन दिनपछि मेरो दृष्टि फर्कियो!
म विश्वास गर्छु कि परमेश्वरले नै मलाई बचाउनुभयो। गाउँका धेरै मानिसहरूले म बाँच्दिनँ भन्ने सोचेका थिए। तर एक हप्तापछि पनि म जीवित छु भन्ने सुनेपछि उनीहरू अचम्मित भए। साँच्चै परमेश्वरले नै मलाई सहायता गर्नुभयो। उहाँ नभएको भए म आज जीवित हुने थिइनँ।
जब म गाउँ फर्किएँ, मैले आफ्ना छिमेकीहरूलाई मैले सेवा गर्ने परमेश्वर कति शक्तिशाली हुनुहुन्छ भनेर बताउन थालेँ। धेरै मानिसहरूले ख्रीष्टलाई ग्रहण गरे। आज हाम्रो गाउँका ५९ परिवारमध्ये २० परिवार ख्रीष्टका अनुयायी बनेका छन्।
मेरो दाइको एक वर्षअघि मृत्यु भयो। मैले उनलाई क्षमा गरिसकेको छु, र म प्रार्थना गर्छु कि प्रभुले पनि उनका पापहरू क्षमा गरून्। म अझै पनि उनको परिवारलाई सुसमाचार सुनाउँछु, ताकि उनीहरूले पनि ख्रीष्टलाई ग्रहण गरेर उद्धार पाऊन्। अहिले मैले सत्यलाई चिनेको छु, र म प्रभुलाई आफ्नो सृष्टिकर्ता र मुक्तिदाताको रूपमा आराधना गर्छु। हालेलुयाह!
