top of page


“म येशू लाई कहिल्यै इन्कार गर्नेछैन”


“म येशू लाई कहिल्यै इन्कार गर्नेछैन”

चीन (China) की हान्ना (Hanna) धेरै पटक जेल परेकी छिन्। उनलाई तीन पटक यातना दिइयो, तर अझै पनि प्रहरी फेरि आउने डर उनलाई छैन। उनी भन्छिन्।
“जब म कमजोर हुन्छु, तब पनि परमेश्वरले मलाई शक्ति दिनुहुन्छ भन्ने मैले अनुभव गरेकी छु। त्यसैले म डराउँदिन,”
सात वर्षअघि आफू पहिलो पटक पक्राउ परेको घटनाबारे सुनाउँदा हान्ना आँसु रोक्न संघर्ष गरिरहेकी थिइन्। प्रहरीले उनलाई आफ्नो विश्वास त्याग्न दबाब दिइरहेको बेला उनका छोराछोरी उनलाई समातेर रोइरहेका थिए। तर प्रहरी किन आएको थियो भन्ने कुरा बताउँदा भने, आँसुभित्रबाट पनि उनको अनुहारमा मुस्कान देखिन्थ्यो।

“चर्चको एउटा समूहले दुई महिनासम्म अस्पतालका लागि प्रार्थना गरेको थियो। केही समयपछि अस्पतालमा आत्मिक जागृति आयो। धेरै मानिसहरू निको भए, र अझ धेरैले मुक्ति पाए!”
अस्पताल व्यवस्थापनले भइरहेको कुरा सहन सकेन, त्यसैले उनीहरूले सुरक्षा प्रहरीलाई बोलाए। त्यस रात चर्चलाई घेरियो, जब उनीहरू आराधना गरिरहेका थिए। प्रहरी आए र सबैलाई एउटा कागजमा हस्ताक्षर गरेपछि मात्र जान दिइने बताए, जसमा उनीहरूले आफ्नो ख्रीष्टियन विश्वास त्याग्ने घोषणा गर्नुपर्ने थियो।
“तिमीहरूले विदेशी धर्ममा विश्वास गर्न सक्दैनौ,” उनीहरूको तर्क थियो।
एक–एक गर्दै मानिसहरूले हस्ताक्षर गरे। त्यहाँ जम्मा भएका १७० जनामध्ये केवल आठ जनाले हस्ताक्षर गर्न अस्वीकार गरे। धेरैजसो नयाँ विश्वासीहरू थिए। उनीहरू विश्वासमा बलिया थिएनन् र प्रहरीसँग डराएका थिए। उनीहरूले के गरिरहेका छन् भन्ने पनि राम्ररी बुझेका थिएनन्।
हान्ना (Hanna) ले पनि ठूलो दबाब महसुस गरेकी थिइन्; त्यो लगभग असह्य थियो। उनका पति केही वर्षअघि बितिसकेका थिए, र उनी दुई बच्चासहित एक्लै थिइन्। यदि उनी जेल जानुपर्‍यो भने बच्चाहरूको के हुन्छ? भविष्यमा उनीहरूलाई कसरी पाल्ने? प्रहरीले भने, यदि उनले येशू (Jesus) लाई इन्कार गरिनन् भने उनीहरूको जागिर पनि खोसिनेछ।
तैपनि निर्णय सजिलो थियो। हान्ना (Hanna) ले हस्ताक्षर गर्न सकिनन्। उनले विश्वास गर्ने परमेश्वर नै एकमात्र साँचो परमेश्वर हुनुहुन्छ भन्नेमा उनी निश्चित थिइन्। साथै, परमेश्वरले सहायता गर्नुहुन्छ भन्ने भरोसा पनि थियो। उनले आफ्नी छिमेकीलाई बच्चाहरूलाई हजुरआमाकहाँ पुर्‍याउन भनिन्, र आफूलाई भने हथकडी लगाएर लगियो।
“प्रहरी चौकीमा उनीहरूले मलाई भने, यदि मैले आफ्नो विश्वास त्यागिनँ भने उनीहरूले मलाई काठको लठ्ठीले कुटेर मारिदिनेछन्। जब मैले त्यो लठ्ठीलाई लात हानेँ, उनीहरू रिसले पागल भए,” उनी भन्छिन्।
“उनीहरूले मेरा हात पछाडि बाँधे र मलाई एउटा रूखमा बाँधे। त्यसपछि उनीहरूले मेरो टाउकोमा प्रहार गरे र काँडायुक्त हाँगाले हिर्काए। ती काँडाहरूले मेरा कपडाहरू च्यातिदिए। धेरै पीडा भयो,” उनी शान्त स्वरमा भन्छिन्, “तर एउटा अनौठो कुरा भयो। प्रहरी अधिकारीले मलाई यति जोडले लठ्ठीले हाने कि त्यो उनको हातबाट उडेर एउटा रूखमा अड्कियो, जहाँ उनी पुग्न सकेनन्। जब उनले बाँसको झाडूले हिर्काउन खोजे, त्यो बीचमै भाँचियो। मैले प्रहरीलाई भनेँ कि म येशू लाई कहिल्यै इन्कार गर्नेछैन। मैले जागिर गुमाए पनि फरक पर्दैन, र म मर्न पनि डराउँदिन। त्यसपछि प्रहरीले मलाई छोडिदियो।”
हान्ना भन्छिन् कि जेलमा हुनुबाट पनि राम्रो कुरा हुन सक्छ। एकपटक उनी ठूलो समूहका ख्रीष्टियनहरूसँग पक्राउ परिन्, र उनीहरूले जेलका सबै कैदीहरूलाई सुसमाचार सुनाए। केही कैदीहरू त्यसबाट रिसाए।
“हत्या अभियोगमा जेलमा परेको एक जना मानिसले मलाई भने, यदि मैले प्रचार गर्न छोडिनँ भने उसले मलाई मार्नेछ। मैले उसलाई भनेँ कि परमेश्वरले मलाई तिम्रो लागि प्रचार गर्न पठाउनुभएको हो। त्यसपछि ऊ रुन थाल्यो।”
अन्य कैदीहरू त्यो हत्याराबाट टाढा रहन्थे, तर ख्रीष्टियनहरूले भने उसलाई प्रेम र हेरचाह देखाए। हान्ना भन्छिन्“हामीले लामो समयसम्म उसलाई आफ्नो खाना र पानी दियौँ। अन्ततः ऊ आयो र भन्यो कि ऊ पश्चात्ताप गर्न चाहन्छ। त्यही रात उसले येशूलाई स्वीकार गर्‍यो। पछि अझ धेरै कैदीहरूले मुक्ति पाए,”, र एउटा विशेष रातको घटना सुनाउँने गर्छिन
“सबै ख्रीष्टियनहरू व्यायाम गर्ने चौरमा गोलो घेरा बनाएर उभिएका थियौँ। हामी हात समातेर आराधना गरिरहेका थियौँ, र नयाँ विश्वासीहरू बीचमा उभिएका थिए। दुई जना प्रहरीहरूले आफ्नो कर्तव्य बिर्सिए, र उनीहरू पनि हात ताली बजाउँदै र खुशी मनाउँदै हाम्रो घेरामा सामेल भए । पवित्र आत्मा हामीमाथि आउनुभयो। हामीले पृथ्वी नै काँपिरहेको महसुस गर्‍यौँ,” हान्ना हामीलाई बताइन ।

Hjerte til nettside.png
  • Facebook
bottom of page